-मानवी पौडेल

दुई दिनको झरी
अहा! यो झरी
काठमांडौ आफै
झरीमा रुझ्यो
फोहोर पखालिए
तर सकिएन।

२००२ सालमा
यसै गरी झरी पर्यो
काङ्ग्रेस रोपियो
२००६ सालमा
फेरि झरी पर्यो
राजालाई निर्वासनमा पठायो
देशको इज्जत बगायो।

अर्को वर्ष झरी पर्यो
बिदेशीले पाईला टेक्यो
देशले प्रजातन्त्र पायो
जनताले सपना पाए
नेताले कुर्सी पाए
राणा शासन बगायो।

फेरि ४ बर्षमा झरी पर्यो
कालो बादल मडारियो
एउटा राजा दियो
अर्को राजा लियो।
२०१६ सालमा झरी पर्यो
देशले संविधान पायो
जनताले सरकार पाए
अर्को साल त्यस्तै झरी पर्यो
सबै पार्टी जति बगायो
न काङ्ग्रेस रह्यो
न कम्युनिस्ट रहे
जनताका मत बगायो।

झरी परिरह्यो
कहिले के बगायो
कहिले के पाखा लगायो।
त्यस्तै झरीले महेन्द्र लग्यो
पञ्चायत लग्यो
बिकास लग्यो
२०४६ सालमा झरी पर्यो
यो झरीले आँसु झर्यो
खुशीका आँसु
झरीले पुन: प्रजातन्त्र ल्यायो
बहुदल ल्यायो।

राजा माथिको विश्वास ल्यायो
फेरि पनि
झरी परिरहे
बाढी बगिरहे
न झरीले खुशी ल्याए
न झरीले ब्यबस्था मिलाए
त्यसपछिका झरीले
जनयुद्ध ल्याए
गणतन्त्र ल्याए
भ्रष्टाचार ल्याए
नातावाद, कृपावाद
वादै वाद ल्याए।

सरकारै सरकार ल्याए
तर दुर्भाग्य
न कसैले जनताको खुशी ल्याए
न देशको सम्मान ल्याए
न विकासको आशा ल्याए
न नियतको निखार ल्याए
हरेक बर्षाले दुर्गन्ध ल्यायो
बर्सेनी सयौँ युवाको लाश ल्याए
रेमिटेन्स ल्यायो
बिखन्डन ल्यायो
आयात ल्यायो
हस्तक्षेप ल्यायो
बिडम्बना ल्यायो
बिकृति ल्यायो।

हे पशुपतिनाथ !
हे बुद्ध !
हे गोरखनाथ !
यदि कतै छौ भने
यो पालिको बर्षामा केही नपठाऊ
सक्छौ भने
देशको माया पठाऊ
परिवारका सदस्य घर पठाऊ
बाझो बारीमा अन्न पठाऊ
सुशासन पठाऊ
नेतामा नियत पठाऊ
जनतामा जागरण पठाऊ
सक्छौ भने
जनतालाई आशा पठाऊ
सरकारलाई बुद्धि पठाऊ
मेरो देशको माया पठाऊ
मलाई मेरो देश पठाऊ
प्लिज झरी,
मेरो देशको सम्मान पठाऊ।

कविता र तस्वीर मानवी पौडेलको फेसबुकबाट साभार गरिएको हो।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here