आदरणिय मेयर ज्यु,
नमस्कार,
यहाँ मलाई सञ्चै छ, तपाई पनि कुशल मंगलनै हुनुहोला भन्ने अपेक्षा गरेको छु। मैले तपाईंलाई बुझेको धेरै समय पछि म यो पत्र प्रेशित गर्न गइरहेको छु ।
तपाईले गर्न सक्ने तर किन किन गर्न चासो नदिनु भएका कामहरुबारे यो खुला पत्र मार्फत लेख्ने जमर्को गरेको छु। खुला पत्र लेख्नुको मेरो आशय सहज र सरल तरिकाले नागरिकलाई सुविधा हुने गरि सेवा प्रदान गर्नहुन छ भन्ने पनि हो। आशा छ तपाईलाई पनि यी कुराले धेरै फाइदा पुग्नेछ ।
आजभोलि हाम्रो नगर विकासको बाटोमा अगाडि बढ्दै गइरहेको छ । तपाईलाई हामी नगरवासीबाट पनि धेरै सहयोग भइरहेको छ तर दुखको कुरा मेरो गाउँले अझै पनि विकासको अनुभुति गर्न पाएको छैन। सायद तपाईलाई थाहा नहोला हाम्रो गाउँमा बिजुली बल्दैन तर मेरै गाउँको बाटो भएर गएको बिजुली पल्लो गाउँमा बलिरहँदा मलाई र मेरा गाउँबासीलाई कति पिडा हुन्छ होला? अहिलको समय भनेको प्रविधिको समय हो, प्रविधिको प्रयोग गर्दै संसदले समेत आफ्ना बैठकहरु प्रतयक्ष प्रशारण गर्छ तर पनि बिजुलीमा मेरो गाउँको सामान्य अधिकार स्थापित हुन नसक्दा मेरो समाज पुरानै युगको समाज भएको छ । मलाई आशा अनि विश्वास छ तपाईले मेरो गाउँमा बिजुलीको समस्या चाँडै हल गर्नुहुनेछ।
स्थानीय तहको निर्वाचन पछि विकास र समृद्धिको कुरा गरिरहँदा मेरो नगर जहाँ राम्रो बाटो र पुल छैन , तपाईलाई थाहा छ वा छैन तर मेरो गाउँ जाने मुख्य बाटो पुल बिहिन छ , जहाँ पुलको अति आवश्यकता छ । थाहा छैन मलाई विकास भनेको के हो ? तर मैले थाहा पाएको कुरा खानेपानी सबै ठाउमा हुनु पर्छ , म घरघर मा धारा त भन्दिन तर टोलटोलमा भएपनि धारा हुनु पर्ने हो । जहाँ पानीको मुहान छ तर गाउँ सम्म ल्याउने पाइप छैन, विकासका ठुला ठुला गफ भईरहँदा केहीसय मिटर पाईपको अपेक्षा गर्नु अपराध हो र? पिउने पानी हाम्रो आधारभुत अधिकार भए तपाई नेतृत्वको नगरपालिकाले सहयोग गर्नुपर्ने होइन र? आशा छ तपाईको सानो पहलकदमीले हाम्रो गाउँबासीले तिर्खा मेट्नेछन। म सबै राजनीतिक र सामाजिक विषयको जानकार त होईन तर सुनेको छु कि सरकारले हरेक गाउँ नगरलाई खेलकुदको लागी पनि लाखौं बजेट दिन्छ रे? , तर अहिले सम्म मेरो गाउँमा एउटा पनि खेल खेल्ने ठाउँ छैन , दुःख लाग्छ सानातिना खेलहरुखेल्न पनि पल्लो गाउँ पुग्नुपर्दा। अब त स्थानीय सरकार छ र पनि हामी कति दिन खेल्ने चौर खोज्दै भौतारिनु? मेयर ज्यू, तपाई पनि हाम्रै छिमेकमा हुर्किनु भएको हो, हाम्रा पिडा तपाईले नबुझ्नु भएको पक्कै होईन होला। आशा छ हाम्रो गाउँका पिडामा यसपटक भने तपाई नेतृत्वको नगर सरकारको ध्यान जानेछ। मैले यो खुलापत्र मार्फत व्यक्त गर्न खोजेका पिडाहरु मेरा व्यक्तिगत पिडा मात्रै होईनन्, यी मेरा गाउँबासीका पिडा हुन। अहिलेको जमानामा हामी मोबाईल चार्ज गर्न समेत बजार धाउनुपर्ने बाध्यता छ यस्तै सामान्य असुविधाका कारण मेरो उमेर समुहका धेरै युवा अनि किशोरहरु गाउँमा बस्न मन गर्दैनन्। मैले तपाईलाई भेटेरै ध्यानाकर्षण गराउँछु भनेर पनि प्रयास नगरेको होईन तर बिडम्बना भन्नु पर्छ विविध कारणले तपाईलाई भेटेर गाउँबासीका पिडा सुनाउने मेरो चाहाना पुरा हुन सकेन। तर यो खुला पत्रपछि भने मेरो आशाको स्तर बढेको छ, यो खुलापत्र पढेपछि तपाईको ध्यान मेरो गाउँतर्फ आकर्षित हुनेछ र बिजुलीबत्ति बालेर घर झलमल्ल पार्ने हाम्रो चाहाना पुरा हुनेछ। चुकेखोलाको पुलबाट सरर घरसम्म पुग्न पाएको दिन मेरा गाउँबासी तपाईप्रति कति धेरै कृतज्ञ होलान? समतामुलक विकासको अनुभुति मेरो गाउँले गर्न पाएको दिन हर्ष र खुशिको उत्साह सहित पुष्प गुच्छा ल्याएर तपाईलाई बधाई दिन आउनेछु।
लामो पत्र लेखेर तपाईको व्यस्त समय म खलबल्याउन चाहान्न। अहिलेलाई यत्ति नै।

सन्तुलित विकासको अपेक्षा गर्ने तपाईको नगरबासी,
कुबेर डांगी
गुर्भाकोट ६ सुर्खेत

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here